दफा ४८
धितो लिने व्यक्तिको धितोको सम्पत्ति कब्जामा लिने अधिकार
(१) धितो दिने व्यक्तिले लिखितरुपमा स्वीकृति दिएको अवस्थामा दायित्वको परिपालन नभएको अवस्थामा पनि कानूनी कारबाहीबिना नै धितो लिने व्यक्तिले धितोको सम्पत्ति आफ्नो कब्जा वा नियन्त्रणमा लिन सक्नेछ ।
(२) धितो लिने व्यक्तिले दायित्वको परिपालन नगरेमा अदालतको आदेशबाट धितोको सम्पत्ति आफ्नो कब्जा वा नियन्त्रणमा लिन सक्नेछ । अदालतले त्यसरी आदेश दिंदा त्यस्तो विवाद धितोको सम्पत्ति समेट्ने धितोसम्बन्धी सम्झौता तथा दायित्वको परिपालन नभएको कुनै एउटा विषयसँग सम्बन्धित भएको कुरालाई हेरी त्यस्तो आदेश दिनु पर्नेछ ।
(३) अदालतले यस दफाबमोजिम धितो दिने व्यक्तिबाट धितोको सम्पत्तिको कब्जा छुटाउन दिएको आदेशउपर धितो दिने व्यक्तिले सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
(४) धितोसम्बन्धी सम्झौताको अधीनमा रही धितो लिने व्यक्तिले धितो दिने व्यक्तिलाई धितोको सम्पत्ति एकत्रित गर्न र धितो लिने व्यक्तिले तोकेको दुवै पक्षलाई मनासिबरुपमा उपयुक्त हुने स्थानमा त्यस्तो सम्पत्ति धितो लिने व्यक्तिलाई उपलब्ध गराउन लगाउन सक्नेछ ।
(५) धितो लिने व्यक्तिले कुनै पनि उपकरण रहेको स्थानबाट सो उपकरण नहटाई त्यसलाई प्रयोग गर्न नमिल्ने किसिमको बनाउन र धितोको सम्पत्तिलाई धितो दिने व्यक्तिको व्यवसायको स्थान, आवास वा धितोको सम्पत्ति रहेको वा भेटिएको अन्य कुनै पनि स्थानमा बेचबिखन गर्न सक्नेछ ।